इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलघाँटीमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गरेपछि त्यसको जवाफ दिएका छन्।
अराघचीले अमेरिका पटक–पटक गुप्तचर सूचनाका मामिलामा असफल हुँदै आएको आरोप लगाउँदै रणनीतिक जलमार्गका विषयमा अमेरिका ठूलो ‘गलत बुझाइ’को सिकार भएको बताएका छन्।
अराघचीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गलत गुप्तचर सूचनाका कारण अमेरिकाले लामो समयदेखि गल्ती गर्दै आएको छ। यसको उदाहरण इरानविरुद्धको युद्ध हाम्रो अगाडि छ। अब होर्मुज जलघाँटीका विषयमा अमेरिकाले त्योभन्दा पनि ठूलो गल्ती गरिरहेको छ। झुटा समाचारभन्दा झुटा गुप्तचर सूचना अझ खतरनाक हुन्छ। सावधान रहनुहोस्।’
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले होर्मुजमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको र त्यसलाई कायम राख्ने बताएका थिए। ट्रम्पको यो दाबीको पुष्टि पछिल्ला समाचारहरूमा पनि उद्धृत गरिएको छ।
ट्रम्पले होर्मुज क्षेत्रमा अमेरिकी नौसेनाको तैनाथीलाई ‘इस्पातको पर्खाल’को संज्ञा दिँदै इरानसँग त्यसको सामना गर्ने क्षमता नरहेको दाबी गरेका थिए।

