कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दिपकेले ‘जन्तर–मन्तरको सिजन–२’ चाँडै सुरु हुने बताएका छन्।
बुधबार उनले सामाजिक सञ्जालमा धेरै मानिसले जन्तर–मन्तरको सिजन–२ कहिले सुरु हुन्छ भनेर प्रश्न गरिरहेको भन्दै चाँडै यसको सुरुवात हुने बताएका हुन्।
दिपकेले भने, ‘धेरै मानिसले इन्स्टाग्राममा कमेन्ट गरेर जन्तर–मन्तरको सिजन–२ कहिले आउँछ भनेर सोधिरहेका थिए। म उनीहरूलाई भन्न चाहन्छु कि जन्तर–मन्तरको सिजन–२ चाँडै सुरु हुँदैछ।’
उनका अनुसार सीजेपीले बुधबार दिल्लीमा आफ्ना स्वयंसेवकहरूको बैठक आयोजना गर्ने योजना बनाएको थियो। त्यसका लागि हल खोज्दा धेरै हल सञ्चालकले माथिबाट दबाब रहेको भन्दै हल भाडामा दिन अस्वीकार गरेको उनले दाबी गरे।
‘धेरै कठिनाइपछि हामीले एउटा हल पाएका थियौँ। हामीसँग त्यसको रसिद पनि छ। तर आज बिहान हलका मालिकलाई धम्की दिइयो। सीजेपीको बैठक यहाँ गर्न दिए उल्टो झुन्ड्याइदिने चेतावनी दिइयो,’ दिपकेले भने।
उनले यस्तो काम भारतीय जनता पार्टी (बीजेपी) ले गरिरहेको आरोपसमेत लगाए। ‘यो सबै बीजेपीले गरिरहेको छ। उनीहरूका काम र अभिव्यक्तिले स्पष्ट देखाउँछन् कि उनीहरू देशका युवासँग डराएका छन्। यस्ता सानातिना गतिविधिबाट हामी डराउँछौँ भन्ने उनीहरूलाई लागेको छ भने त्यो उनीहरूको ठूलो भ्रम हो,’ उनले भने।

