विदेशबाट साढे ५ महिनापछि आज साउन २८ गते स्वदेश फर्किन लागेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले व्यापक तयारी गरेको छ।
उनको स्वागतका लागि कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले तीन स्थानमा तयारी गरेका हुन्।
इतर समूहका नेता मीन विश्वकर्माका अनुसार देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटअगाडिको खाली ठाउँ, नमस्ते गेटअगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पतालअगाडिको खाली ठाउँमा कार्यकर्ता भेला हुने भएका हुन्।
कांग्रेसका पूर्वसभापति देउवा बिहीबार दिउँसो पत्नी आरजु राणासहित थाइलान्डबाट नेपाल फर्किन लागेका हुन्।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा दम्पती आज दिउँसो साढे १२ बजे थाई एयरबाट काठमाडौँस्थति त्रिभुवन विमानस्थलमा ओर्लेनछन्।
२०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमण हुँदा घाइते भएका कांग्रेसका तत्कालीन सभापति देउवा त्यही साल फागुन १३ गते राति सिंगापुर प्रस्थान गरेका थिए।
त्यतिबेला भारत भ्रमणमा रहेकी उनकी पत्नी तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा पनि उनीसँगै गएकी थिइन्।
त्यसपछि २०८२ चैत ७ गते उनीहरूले थप उपचारका लागि आफूहरू सिंगापुरबाट हङकङ पुगेको जानकारी गराएका थिए।
अनि यही साउन २२ गते हङकङबाट थाइल्यान्डको राजधानी बैंकक पुगेका उनीहरू त्यहाँबाट आज नेपाल आउन लागेका हुन्।

