वैज्ञानिकहरूले अहिले विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै शक्तिशाली बन्ने करिब ७० प्रतिशत सम्भावना रहेको बताएका छन्। यस एल निनोका कारण विश्वभर तापक्रम वृद्धि, वर्षाको ढाँचामा परिवर्तन, खडेरी, बाढी र डढेलोको जोखिम बढ्ने अनुमान गरिएको छ। विशेषज्ञहरूका अनुसार सन् २०२७ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्न सक्ने सम्भावना छ भने, यसले विश्वव्यापी जलवायु प्रणालीमा गम्भीर असर पार्न सक्छ।
अहिले विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै शक्तिशाली एल निनो बन्ने सम्भावना करिब ७० प्रतिशत रहेको वैज्ञानिकहरूले प्रक्षेपण गरेका छन् । अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले नयाँ अपडेट सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।
एल निनो निकै तीव्र गतिमा शक्तिशाली बन्दै जानु, कम्प्युटर मोडलहरूले शरद ऋतुको अन्त्य तथा हिउँदको सुरुआततिर यसको तीव्रता उच्चतम अवस्थामा पुग्ने देखाउनुका साथै पहिले अनुमान गरिएभन्दा बढी शक्तिशाली हुने संकेतले पूर्वानुमानमा यस्तो परिवर्तन आएको एनओएएले जनाएको छ । मौसमविद्हरूले ‘निनो’ क्षेत्रमा समुद्रको सतहको तापक्रम औसतभन्दा २.५ डिग्री सेल्सियसभन्दा बढी रहने अनुमान गरेका छन् ।
के हो एल निनो ?
एल निनो मध्य तथा पूर्वी उष्णकटिबन्धीय प्रशान्त महासागरको पानीको तापक्रम औसतभन्दा बढी हुने जलवायु चक्र हो । समुद्रको यो तातो पानीका कारण बादल र भारी वर्षामार्फत वायुमण्डलमा तापक्रम वृद्धिको अवस्था सिर्जना हुन्छ । यसले विश्वभरको मौसम प्रणालीमा परिवर्तन ल्याउँछ ।
इन्डोनेसिया र अस्ट्रेलियामा विशेषगरी खडेरी तथा दक्षिण अमेरिकाका केही भागमा बाढीको जोखिम बढ्न सक्छ । विश्वका अन्य क्षेत्रमा विभिन्न प्रभाव देखिन सक्छन् । बलियो बन्दो गएको एल निनोका कारण मनसुनी वर्षाको ढाँचा परिवर्तन, तापक्रम वृद्धि, खडेरी, कृषि उत्पादनमा गिरावटसँगै खाद्य संकटको चिन्ता बढाएको छ ।
एल निनोको तीव्रता उष्णकटिबन्धीय प्रशान्त महासागरको निश्चित मापदण्ड क्षेत्रमा समुद्रको तापक्रम औसतभन्दा कति बढी हुन्छ भन्ने आधारमा निर्धारण गरिन्छ । एओएएको प्रक्षेपणअनुसार यसपटक विकसित भइरहेको एल निनो सन् १९८२-८३ मा देखिएको शक्तिशाली ‘सुपर एल निनो’ भन्दा पनि बलियो हुन सक्छ ।
